अभिनेता अनमोल केसीले आफ्ना आगामी फिल्महरूको लाइनअप सार्वजनिक गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले आफ्ना आगामी फिल्महरूबारे जानकारी दिएका हुन्।
अनमोल अहिले चारवटा फिल्मसँग आबद्ध छन्। ती हुन्,- बाटुलो जून, ए मेरो हजुर ५, बिफोर वी मेट र जेरीः द लास्ट क्लाइम्ब।
सनराइज पिक्चर्सको 'बाटुलो जून' दसैंमा प्रदर्शनमा आउनेछ। अन्य फिल्महरूको भने छायांकन बाँकी छ।
'ए मेरो हजुर ५' सुहाना इन्टरटेनमेन्ट, 'बिफोर वी मेट' एप्पल इन्टरटेनमेन्ट र 'जेरीः द लास्ट क्लाइम्ब' अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो।
अनमोलले यी प्रोजेक्टलाई 'अर्थपूर्ण कथाहरू' भन्दै आफू ती कथासँग जोडिन पाउँदा सम्मानित महसुस गरेको उल्लेख गरेका छन्। साथै उनले आफ्ना दर्शक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनीहरूको मायालाई आफ्नो शक्ति भनेका छन्।
२०८२ सालमा रिलिज 'जेरी अन टप' अनमोलको करिअरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। त्यसअघि रिलिज 'फर्की फर्की' ले पनि सुखद् व्यापार गरेको थियो।