रणवीर सिंह अभिनीत 'धुरन्धर' फ्रेन्चाइजले भारतीय सिनेमामा नयाँ कीर्तिमान बनाएको छ। फिल्म श्रृंखलाले विश्वव्यापी बक्स अफिसमा ३ हजार करोड भारूभन्दा बढी कमाइ गरेको हो।
भारतीय संचारमाध्यमका अनुसार 'धुरन्धर' र 'धुरन्धर २' संयुक्त विश्वव्यापी कमाइ ३ हजार नाघेको हो। उक्त आँकडा पार गर्ने यो भारतको पहिलो फिल्म फ्रेन्चाइजी बनेको छ।
ट्रेड वेबसाइट सैकनिल्कका अनुसार 'धुरन्धर २' ले अहिलेसम्म भारतमा नेट १०८८.६२ करोड (ग्रस १३०३.३७ करोड) भारू कमाइ गरेको छ। फिल्मले विदेशमा ४१५.२५ करोड भारू कमाएको छ। यससँगै फिल्मको विश्वव्यापी ग्रस कमाइ १७१८. ८२ करोड भारू पुगेको छ।
यससँगै 'धुरन्धर' श्रृंखलाको कुल कमाइ ३०२५. ९७ करोड भारू पुगेको हो।
यसअघि डिसेम्बर ५ मा रिलिज 'धुरन्धर' ले विश्वव्यापी रूपमा १३०७. ३५ करोड भारू कमाएको थियो।
समाचारअनुसार 'धुरन्धर' ले पहिले नै कमाइको हिसाबले भारतीय सिनेमाका अन्य प्रमुख फिल्म फ्रेन्चाइजीहरूलाई उछिनिसकेको थियो।
'पुष्पा' का दुवै भागको संयुक्त कुल कमाइ लगभग २,१९२ करोड भारू आसपास थियो। 'पुष्पा' ले लगभग ३५०.१० करोड भारू कमाएको थियो भने दोस्रो भागले विश्वव्यापी रूपमा १,७४२.१० करोड भारू कमाएको थियो।
यस्तै, 'बाहुबली' को दुवै भागले लगभग २,४३८ करोड भारू कमाएको थियो। 'बाहुबली' ले लगभग ६५० करोड भारू कमाएको थियो भने दोस्रो भागले विश्वव्यापी रूपमा १,७८८.१० करोड भारू कमाएको थियो।
'धुरन्धर' दुवै भागले १ हजार करोडभन्दा बढी कमाइ गर्ने भारतको पहिलो फ्रेन्चाइज बनेको समेत जनाइएको छ। हाल दोस्रो भाग प्रदर्शनरत रहेकाले यसको कमाइ अझै बढ्ने अनुमान गरिएको छ। रणवीर सिंहका लागि पनि यो करिअरकै ठूलो उपलब्धि मानिएको छ।
आदित्य धर निर्देशित 'धुरन्धर २' नेपालका सिनेमा हलहरूमा समेत अझै प्रदर्शनरत छ।
फिल्ममा रणवीरसहित आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ।