अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चिनियाँ समकक्षी सी चिनफिङलाई पत्र लेखेका छन्।
फक्स टेलिभिजनलाई मंगलबार दिएर एक अन्तर्वार्तामा ट्रम्पले सीलाई त्यस्तो आग्रह गरेको खुलाएका हुन्। जबाफमा इरानलाई हतियार नदिएको सीले बताएका छन्।
'मैले उन (सी) लाई त्यसो नगर्न आग्रह गर्दै एउटा पत्र लेखेँ, र उनले जबाफमा एउटा पत्र पठाए जसमा उनले आफूले त्यसो नगरेको बताएका छन्,' ट्रम्पले भने।
उनले कहिले पत्र लेखेको भनेर नखुलाए पनि केही समयदेखि चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिँदै समाचार आएका छन्। केही दिनअघि ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी समेत दिएका थिए।
चीनले केही काँधबाट विमान खसाल्न मिल्ने रकेट सहित ‘एयर डिफेन्स’ मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको समाचार आएका थिए।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो।
'यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,' ट्रम्पले जबाफमा भनेका थिए।
आज मात्रै इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर मध्यपूर्वका अमेरिकी सैन्य संरचनामा प्रहार गरेको फाइनान्सियल टाइम्सले लेखेको छ।
फाइनान्सियल टाइम्सका अनुसार इरानले गोप्य रूपमा एउटा चिनियाँ जासुसी उपग्रह प्राप्त गरेको र हालैको युद्धका क्रममा अमेरिकी सैन्य संरचनामा निशाना लगाउन सहयोग गरेको छ।
चुहिएका इरानी सैन्य कागजातको हवाला दिँदै अनुसार चीनले सन् २०२४ को अन्त्यतिर चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरेको उपग्रह इरानी सेनाले प्राप्त गरेको फाइनान्सियल टाइम्सले खुलासा गरेको छ।
समय-अंकित कोअर्डिनेट सूची, उपग्रहका तस्बिरहरू र कक्षीय विश्लेषणले इरानी सेनाले पछि उक्त उपग्रहलाई प्रमुख अमेरिकी सैन्य स्थलहरूको निगरानी गर्ने जिम्मेवारी दिएको थियो। ती स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण हुनुअघि र पछि मार्च महिनामा यी तस्बिरहरू खिचिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)