काठमाडौंका सुकुम्बासी बस्तीबाट निकालिएका परिवार सरकारको सम्पर्कमा आउने क्रमसँगै उनीहरूका कारूणिक कथा पनि सार्वजनिक भइरहेका छन्।
सरकारले शनिबार र आइतबार डोजर चलाएको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्तीका बसोबासीको नाम र विवरण टिप्ने व्यवस्था त्रिपुरेश्वरको रंगशालामा गरिएको छ।
रंगशालामा सोमबार दिउँसो परिवारको विवरण टिपाउन आएका सिन्धुपाल्चोक, बाह्रबीसेका हस्तबहादुर तामाङले त्यस्तै एउटा कारूणिक कथा सुनाए।
विवरण टिपाउने क्रममा भेट भएका हस्तबहादुरको परिवार मनोहरा सुकुम्बासी बस्तीबाट निकालिएका हुन्।
गत साता सुकुम्बासी बस्ती खाली गर्न सरकारले दुई दिनको म्याद दिएपछि उनका १७ वर्षीय छोरा रविन तामाङ मानसिक रूपले आहत भएका थिए। गाउँमा जीविकोपार्जन गर्न मिल्ने जायजेथा केही नभएको र यहाँ पनि बसिरहेको ठाउँबाट एकाएक बाहिरिनुपरेपछि कसरी गुजारा चलाउने होला भनेर उनी मानसिक रूपले पिरोलिएका थिए।
त्यही पिर र मानसिक दबाबका कारण दुई दिनअघि उनले आफ्नै घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेको हस्तबहादुर बताउँछन्।
'गाउँमा केही छैन, अब यो बस्तीमा पनि डोजर चल्यो भने कसरी बाँच्ने होला भन्ने चिन्तामा ऊ सधैं पिरोलिन्थ्यो,' हस्तबहादुरले भने, 'त्यही चिन्ताले यस्तो निर्णय लिएको हुन सक्छ।'
प्रहरी वृत्त थिमीका डिएसपी नवराज ढुंगानाले पनि उनको मृत्यु पुष्टि गरे। साथीहरूसँग बाहिर जान्छु भनि घरबाट निस्किएका रविन वैशाख १० गते बिहान घरको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको उनले बताए।
डिएसपी ढुंगानाका अनुसार रविनको आत्महत्याको कारण खुलेको छैन। सुसाइड नोट फेला नपरेको उनले बताए।
'अघिल्लो रात साथीहरूसँग रहेकाले अबेर घर फर्किएकाले आमाबुबाले खाना खाएर सुतेको भन्नुभएको छ। भोलिपल्ट बिहान झुन्डिएको अवस्थामा फेला परे। पोस्टमर्टम भइसकेको छ। रिपोर्ट प्राप्त भइसकेको छैन। बाँकी अनुसन्धान भइरहेको छ,' उनले भने।
आइतबार झुपडी भत्काइएपछि तामाङ परिवार आफन्तकहाँ आश्रय लिएर बसिरहेको छ।

हस्तबहादुरका अनुसार परिवारको अवस्था अत्यन्तै कमजोर छ। उनकी श्रीमती कान्छी तामाङ दमकी दीर्घरोगी छन् भने आमा पक्षघातका कारण ओछ्यानमै थलिएकी छन्। बुबा मुटुरोगबाट पीडित छन्। बहिनी रेलीमाया तामाङ पनि त्यही बस्तीमा अर्कै झुपडीमा बस्दै आएकी थिइन्। डोजरले दाजु-बहिनी दुवैको झुपडी भत्काइदिएको उनी बताउँछन्।
'खाने–बस्ने ठेगान छैन। बिरामी आमाबुबालाई लिएर होल्डिङ सेन्टर जान सक्ने अवस्था छैन, होटलमा बस्न त झन् सम्भवै भएन,' हस्तबहादुरले भने, 'दिसापिसाब गर्न नसक्ने आमालाई होल्डिङ सेन्टर वा होटलमा लगेर कसरी स्याहार्नू?'
एक जना छोराको मृत्युपछि अब उनका एक छोरा र दुई छोरी छन्।
सिन्धुपाल्चोकको गाउँमा उनको सानो जग्गा नभएको होइन। तर भिरको त्यो जग्गामा २०७२ सालको भुइँचालोपछि बस्न अत्यन्तै जोखिम छ। माथिबाट निरन्तर ढुंगा खसिरहने र पहिरोको जोखिम पनि भएकाले पुर्ख्यौली थातथलो छाडेर आश्रयको खोजीमा मनोहरा बस्ती आइपुगेको उनी बताउँछन्।
आर्थिक अभाव र बसोबासको समस्याले छोराको काजकिरिया समेत गर्न नसकेको उनले बताए।
शनिबार र आइतबार काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलेपछि डर र अन्यौलले लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउने क्रम बढेको छ।
यसबीच रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ३ सय ६७ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए।
यसमध्ये १५ सय हाराहारी बालबालिका छन्।
***